मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । टीका अनि फूल माला पहिरिएर विदाइको हात हल्लाउँदा आँखाभरि आँशु टप्किएको थाहै
भएन उसलाई । त्यो उमंग, त्यो रोमाञ्चकता, त्यो उज्यालो
भविष्यको सुन्दर सपना सबै सबै एक्कासी बिलाएको अनुभूति भयो । वाक्य फुटेन अनि शब्द बिच बाटोमै अड्कियो । आमा बुवा दाजुभाइ दिदी बहिनी नाता गोता साथी सँगी सबै
अश्रुपूर्ण आँखा र भारी मनका साथ विदाइका लागि उपस्थित
हुँदा डाँको छोडेर रून मन लाग्यो । तर पनि उसले आफूलाई सम्हाल्ने कोसिस गरिरही । जब आमाले,“ नानी परदेशको ठाउँ, बोली भाषा, चालचलन, रहन सहन, खानपिन सबै नौलो होस बिचार गरेर काम गरेस् । मलाई त सारै डर लागिरहेछ” भन्दै रून थालिन्
उसको पनि धैर्यको बाँध टुट्यो । संसार
चकमन्न भयो । आमालाई च्याप्प अंगालो मारी र रून थाली तर केही बोलिन । तल्लाघरे माष्टर
काकालाई सम्झी । उनले बारम्बार सम्झाउने नाटक गर्दै
भनेका थिए, “ नानी विदेशको काम तिमीले सोचे जस्तो सजिलो कहाँ छ र ? धेरै दुःख छ
नानी विदेशमा । तैपनि विदेश जान्छु नै भन्छौ भने सबै कुरा बुझेर मात्रै जाऊ । मैले थाहा पाए अनुसार जसको भर परेर तिमी विदेश जान तयार छौ उ त्यति भरपर्दो मान्छे होइन । जानु अघि त्यो
मान्छे अनि कामको प्रकृति बारेमा राम्ररी बुझेर, केही सीप सिकेर मात्र जानू । नत्र दुःख पाइन्छ नानी ।”
कत्रो डाहा गर्छन् हो तल्लाघरे माष्टर
काका ? हाम्रो उन्नति प्रगति त देख्नै नचाहने । नाताले पो काका । के गर्नु नाता
मात्रले ? वास्तवमा उनी मेरो हितका मान्छे होइनन् । पोहोर भाइलाई विदेश पठाउँ भन्दा बालाई कुट्न मात्रै बाँकी राखे । “भर्खर
एस.एल.सी. पास भएको छोरो । क्याम्पस पढाउन छोडेर विदेश पठाउँछु पो भन्छौ । किन बुद्धी विग्रेको तिम्रो ? मेरो
पनि त हक छ नि उसमा । म जान दिन्न” भन्दै बालाई खुब हकारे । खुब हुन्छ उनको हक ? खै त उसको फी तिरिदिएको ? भर्ना
हुँदा जाबो अलिकति सहयोग गरे समाजमा फुइँ लाउनलाई । हाम्लाई थाहा छैन र ? उनी
भन्दा हामी माथि जान्छौं भनेर अनेक तिकडम
गरेको हामी बुझ्दैनौ
भन्ठान्या छन् ? उल्टै बहिनी भन्दै सहयोग गर्ने बिचरा ती टाढाबाट आएका दाइलाई आरोप पो लाउँछन् बा ।
हैन तिनको के खाइद्या छ हाम्ले ? तिनीसँग कुनै सहयोग माग्या छैन । तिनलाई के को टाउको दुखाइ भन्या ? उनी पो हाइ
स्कूलका माष्टर । खुरूखुरू महिनै पिच्छे तलब बुझ्छन र मोज गर्छन् । हामी चाहिं सधैं त्यही खेती किसानी मात्रै गर्नु ?
रिस गर्नुको पनि सीमा हुन्छ नि । गैराघरे ठूल्दाइ पनि त गतिला छैनन् । काकाकै
मुखमा मुख मिलाएर कुरा गर्छन् । यस्तै हुन् आफन्त भनाउँदाहरू ।
बिचरा कति टाढाका ती दाइ भगवान बनेर आएका छन् हाम्रो घरमा । कति मिठो बोलि बचन । कति
सहयोगी भावना । नाता सम्बन्धले त को नै पो हुन् र उनी हाम्रा ? मेरो नागरिकता
बनाउन पनि सहयोग गरे । कति पैसा खुवाएर मेरो चार वर्ष उमेर बढाएका अरे नत्र विदेश
जान पाइन्न भनेर । मेरो भाइले किन वर्ष बढाएको भनेर सोध्दा भनेको उनले । कति चाँडै
हाम्रो पीरमार्का बुझेका । पासपोर्ट पनि उनैले बनाइदिए । नत्र
म गाउँकी अनपढ केटी कसरी गर्न सक्थे यो सब काम ? आफ्ना भनाउँदाहरूको चाला त्यस्तो छ । जे होस् अब म विदेश जान्छु , टन्न
पैसा कमाउँछु र मेरो रिस गर्नेहरूको शीर निहुऱयाइ दिन्छु । मैले
त्यहाँ घाँस दाउरा गर्नुपर्दैन रे, भारी बोक्नु नि पर्दैन रे । बस् घरमै बस्यो, घर
भित्रकै काम गऱयो, मीठो मीठो खायो, टन्न पैसा कमायो, आहा । कस्तो रमाइलो जिन्दगी । जाबो घर भित्रको काम गर्न मलाई के को दुःख । यस्तो विधी दुःख त सहेकै छु । टन्न
पैसा भएपछि राम्रा केटाहरू पनि त पछि लाग्छन नि । म त धैरै केटाहरू मध्येबाट
राम्रो केटा छानेर बिहा गर्छु । म रूनु हुन्न । के म दुःख पाउन जान लाग्या हो र ?
उसले मन बलियो पारी । आफन्तहरूबाट टाढिनुपर्दाको पीडालाई पन्छाएर सुन्दर सपनाको संसारलाई च्याप्प अंगालो मारी र सबैबाट ओझेल परी ।
यो सब सपना जस्तै लाग्दै छ उसलाई आज । चलचित्रका दृष्यहरू
जस्तै एक एक गरी नाच्दैछन् उसको मानसपटलमा । मुटु फुट्ला जस्तै छ । घर मालिकको
शारिरीक र मानशिक यातना असह्य बन्दैछ । हिजो हातबाट खसेर एक गिलास फुट्दा टाउकै
फुटाए पापीहरूले । मैले जानाजान फुटाए जस्तो । ऎया कति दुख्दै छ अझै । जतिबेला पनि गिद्दे दृष्टिले हेर्छ त्यो
साहुको छोरो भनाउँदो पनि । अस्ति भर्खर पनि बल्ल बल्ल उसको पञ्जाबाट फुत्किएँ । बच्चा खेलाउँदै गर्दा म निदाएँ अस्ति । भकुर्नु
भकुरे मलाई । म पनि त मान्छे हो नि । के मलाई अल्छी लाग्दैन र ? राम्रोसँग सम्झाए भैहाल्थ्यो नि । मैले कहिले पो अटेर गरेकी
थिएँ र उनीहरूलाई ? झर्केर मात्र बोल्छन जतिखेर नि पापीहरू। के गर्नु आफू केही बोल्न सक्दिन । यिनीहरूको बोली सिकेको भए
मनका कुराहरू त भन्थे । मान्छे त हुन् अलिकति त बुझ्थे होलान् । कहिलेकाहिं त माया पनि देखाए जस्तो गर्छन् । घरको काम सबैतिर
उस्तै त होलानि भन्ठानेकी । यसको घर भित्र पस्दा त सगरै खसे जस्तो भयो नि । आम्मामामा । जे कुरा पनि मशीनबाटै₋ खाना
पकाउनेदिख लुगा धुने सम्म । म कसरी चलाउनु त्यो ? कहिल्यै देख्या सुन्या भए पो । चलाउन
नजाने कुट्छन, गाली गर्छन् । राम्रोसँग सिकाए पनि त हुन्थ्यो । के के त भन्छन् म
बुझ्दिन । झनै जोडले कुट्छन् । हे भगवान मलाई यिनीहरूको बोली त सिकाइदेऊ । यिनीहरूको
चालचलन र व्यवहार सिकाइदेऊ । नत्र म बाँच्न
सक्दिन भगवान रातदिनको मानसिक र शारिरीक पीडाको पहाड उचालेर । लैजाऊ मलाई पनि आफैंसँग । म कुन मुख लिएर घर जानु । घर जाउँ भन्दा
पनि सबै कागजात उही साहू भनाउँदो सँग छन् । मागौं भने उल्टै मार्ला भन्ने डर ।
म पापिनी मेरा भगवान जस्ता काकालाई गाली गरें । उनले त मलाई सम्झाएकै थिए नि । मेरै रीस गर्छन् सोचें । मलाई सधैं आफ्नै छोरी जस्तै
व्यवहार गर्थे । मैले किन बुझिन उनको कुरा ? उनको
सुझाव मानेर बोली भाषा, चाल चलन, कामको
प्रकृति बुझेर केही सीप सिकेर यहाँ आएको भए यति दुःख त पाइँदैन थ्यो होला । गू गोबर
छुट्ट्याउन नसक्दा यस्तो भयो । मेरो पनि के दोष म गाउँकी अबोध नारी । आफूले कहिल्यै त्यस्तो छलकपट जानेको भए पो । त्यो
दाइ भनाउँदोले मीठो बात गर्दा पत्याएँ । केही दुःख हुँदैन । केही परे मलाई भन्नु भन्थ्यो । पहिला त मीठा कुरा गर्थ्यो नि
फोनबाट पनि । जब मलाई अप्ठ्यारो परेको सुनाएँ फोनै उठाउँदैन राक्षस
। त्यसको कहिल्यै भलो नहोस् । अहिले पो थाहा पाएँ₋ उसले त म जस्ता
धेरै गाउँका दिदी बहिनीहरूलाई ललाई फकाई विदेश पठाउँछ अरे
पैसा कमाउन । पाप पनि लाग्दैन । कलिजुग त हो । जो गर्छ पाप उसकै फलिफाप । कसलाई दोष दिनु मेरो कर्मै यस्तो । दुःख मात्रै लेखेको
रहेछ । गरिबलाई त सपना देख्ने अधिकार पनि छैन । जे होस्
अब म यहाँ बस्दिन । एक बस्दिन दुइ बस्दिन । मर्छु बरू । यसरी रातदिन मरेर बाँच्नु
भन्दा त एकै पल्ट मर्नु जाति । होइन किन मर्नु ? मेरो घर छँदैछ । बा आमा छँदैछन् । घरै जान्छु । घर जान पो कहाँ सजिलो
छ र त्यो पापीले नछोडे सम्म । होइन अस्ति भर्खर मात्र तीन जना मेरै साथीहरू भागेर
गए भन्ने सुनेकी । हामी जस्ता पिडीतहरूलाई घर पठाइदिने अड्डा
छ रे₋ दूतावास भन्छन् सायद । त्यहाँबाट पनि भनेको
समयमा त के जान पाइएला र ? कोही त धेरै
समयदेखि त्यहीँ छन् रे । जे सुकै
होस् म त्यहीँ जान्छु, रून्छु कराउँछु । जसरी पनि म घर जान्छु जान्छु । बरू घरमै
गएर दुःख गर्छु । बा आमा सँगै बस्छु । मास्टर काका सँग माफी माग्छु ।
यति सोच्दा सोच्दै भक्कानिएर रून थाल्छे ऊ । कसैले सुन्ला कि
भन्ने डर । रून पनि लुकेर रूनु पर्ने । तर आज उ दृढसंकल्पित छे, आफ्नै सुन्दर सपनाहरूको
मलामी बन्दै उही पुराना दुःख कष्टहरूलाई अंगाल्न भए पनि स्वदेश फर्कने, आफ्नो गाउँ
फर्कने, आफ्नो घर फर्कने । भागेरै भए पनि । अलिकति राहत महसुस गर्छे । तर अझै
सुँक्सुकाहट रोकिएको छैन, अश्रु वर्षा थामिएको छैन, मुटुको धड्कन बढिरहेकै छ
फुट्ला झैं गरी ।
अम्बिका जोशी
नेपाली राजदूतावास, कुवेत
No comments:
Post a Comment